loader

Breaking News

कुबेरचन्द्र दाहालकृत ‘टिस्टा-रङ्गीत’को सिलगढ़ीमा भव्य लोकार्पण

Image
 

भारतीय संविधान नेपाली भाषाका आदि अनुवादक तथा सिक्किम सरकारका भूतपूर्व अतिरिक्त सचिव कुबेरचन्द्र दाहालको पहिलो उपन्यास टिस्टा-रङ्गीतको सिलगढ़ीमा भव्यताका साथ लोकार्पण गरियो। 13 दिसम्बर शनिवार सिलगढ़ीको गुरुङ नगरस्थित भानुभक्त भवन बुक-आण्ट प्रकाशन गृहको किताब-क्याफेमा वरिष्ठ साहित्यकार एवम् लेखकहरूको बाक्लो उपस्थितिबिच दाहालकृत उपन्यासको लोकार्पण गरिएको हो। बुक-अण्ट प्रकाशन हाउसद्वारा प्रकाशित उक्त उपन्यासमा लेखकले भारतीय गोर्खा/नेपाली जातित्वको मूल स्वर, सरोकार, चिन्ता र हाम्रा वैशिष्ट्यहरूलाई सुन्दर कथात्मक रूपमा प्रस्तुत गरेका छन्।
समारोहमा वरिष्ठ पत्रकार एवं कृति सम्पादक अशोक प्रशान्त-ले सर्जक संवाद आयोजन गरेका थिए । 
समारोहमा प्रमुख अतिथिका रूपमा उत्तर बंगाल विश्वविद्यालयका पूर्व प्राध्यापक प्रो. लक्ष्मीकान्त शर्मा उपस्थित थिए भने अन्य विशिष्ट अतिथिहरूमा क्रमैले उत्तर बंगाल विश्वविद्यालयकै प्राध्यापक डा. मोहन पी. दाहाल, पूर्व विधायक तुलसी भट्टराई, श्रीमती हेमकला शर्मा, संगीतकार जीवन अधिकारी, अवकाशप्राप्त कर्णल पीके शर्मा, ज्ञानेन्द्र दाहाल लगायत अन्यान्य गण्यमान्य व्यक्तिहरूको उपस्थिति थियो। कार्यक्रमको उदघोषणा बुकअन्टका निदेशक राजा पुनियानीले गरेका थिए भने सञ्चालन शिक्षक युवराज सुन्दासले गरेका थिए।
उल्लेखनीय छ, १९ दिसम्बर, सन् १९५१ को दिन जन्मिएका लेखक कुबेरचन्द्र दाहालको नेपाली भाषामा प्रथमपल्ट अनूदित 'भारतको संविधान' को प्रथम संस्करण  सन् १९९१-मा प्रकाशित भएको थियो ।
पुस्तकमाथि बोल्दै वरिष्ठ पत्रकार अशोक प्रशान्तले भारतीय नेपाली  विशेषगरी सिक्किम अनि दार्जीलिङका नेपालीहरूले भोगिरहेको परिचय र राजनैतिक संकट अनि यसैका वरिपरि केन्द्रित गरेर लेखिएको उपन्यास भनी बताए।
आफ्नो पुस्तकबारे बोल्दै लेखक कुबेरचन्द्र दाहालले भारतभरि छरिएर बसेका नेपालीहरूका मनभित्रको मर्म विषय़ लिएर आफूले मानिसहरूसित संवाद गरेको अनि गोर्खाल्याण्ड आन्दोलनका भुक्तभोगी, युवाहरूको अवस्थालाई उजागर गर्ने कोशिश गरेको बताए। सिक्किमकी नायिका अनि खरसाङका नायकलाई राखेर टिस्टा-रंगीत मिलन प्रतीकात्मक कथा बनौटले उपन्यास सजाउने प्रयास गरेको लेखकको भनाइ थियो।

 


Leave a Comment